
काठमाडौं। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि आज (शुक्रबार) पेसी तोकिएको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका खड्काको तर्फबाट उनकी श्रीमती विनीता थापाले सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन्। यसअघि बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले घटनासँग सम्बन्धित आवश्यक कागजातहरू झिकाउन आदेश दिएको थियो।
अदालतले खड्कालाई हिरासतमा राख्न म्याद थप गरिएको विषयमा के कसो भएको हो भनी बिहीबार साँझसम्म लिखित जवाफ माग गरेको थियो। सोही बमोजिम लिखित जवाफ पेस भएपछि आजका लागि पेसी तय भएको हो। साथै अदालतले दोस्रो पटक म्याद थप गर्दाका कागजात र अनुसन्धानका अन्य विवरणहरू महान्यायाधिवक्ताको कार्यालयमार्फत उपलब्ध गराउन समेत पत्राचार गरेको छ।
























