
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट स्रोत नखुलेको रकमसहित प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् ।
इलाका प्रहरी कार्यालय भन्टाबारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको को २१ प १४९५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको साथबाट नेपाली तथा भारतीय रुपैयाँ बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारतको सुपौल जिल्ला छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको छ । मोटरसाइकल चालक यादवको साथबाट नेपाली ५ लाख १ हजार ५०५ र भारतीय ५ हजार ३५० रूपैयाँ बरामद भएको जानकारी खड्काले दिए ।
उनका अनुसार मोटरसाइकलको पछाडि सवार मुखियाको साथबाट नेपाली १ लाख ४७ हजार २०५ र भारतीय ७ हजार ६ सय रूपैयाँ बरामद भएको छ । दुवै जनाको साथबाट नेपाली रुपैयाँ ६ लाख ४८ हजार ७१० र भारतीय रुपैयाँ १२ हजार ९५० बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डी सम्बन्धी कसुरमा मुद्दा चलाउन सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीमा क्षेत्र अवैध रूपमा रकम ओसारपसार गर्ने गतिविधि हुन नदिन सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

























