
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र नियमित गस्तीमा खटिएको सुरक्षाकर्मी टोलीमाथि गैँडाले आक्रमण गर्दा एक सिपाही गम्भीर घाइते भएका छन् भने प्रतिकारका क्रममा गोली लागेर गैँडाको मृत्यु भएको छ ।
घाइते सिपाहीको काठमाडौंमा उपचार भइरहेको छ । आईसीयूमा उपचाररत सिपाहीको अवस्था गम्भीर छ । घटना शुक्रबार दिउँसो करिब १२:५० बजेतिर निकुञ्जको नवलपुर सेक्टरअन्तर्गत सेरी सुरक्षा पोष्ट आसपास क्षेत्रमा भएको हो ।
निकुञ्ज सुरक्षाका लागि खटिएको नयाँ गोरख गणका चार जना सिपाही पैदल गस्तीमा रहेका बेला अर्धवयस्क बच्चासहितको आमा गैँडासँग उनीहरूको अचानक जम्काभेट भएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार एक्कासि नजिकै भेटिएपछि सिपाहीहरूले जोगिनका लागि भाग्ने प्रयास गरेका थिए ।
तर, गैँडाले लखेट्न थालेपछि स्थिति नियन्त्रणमा लिन उनीहरूले करिब १० राउण्ड हवाई फायरिङ गरेका थिए । त्यसपछि पनि गैँडाको आक्रमण रोकिएन ।
त्यसक्रममा गस्ती टोलीका सिपाही विकास घर्तीलाई गैँडाले लडाएर किच्न थालेको थियो । सहकर्मीमाथि भइरहेको आक्रमण रोक्न बाध्य भएर अन्य सिपाहीहरूले थप दुई राउण्ड गोली गैँडातर्फ चलाएका थिए । गोली लागेपछि गैँडाको घटनास्थलमै मृत्यु भएको थापा मगरले बताए ।
गैँडाले आक्रमण गर्न छोडेपछि घाइते घर्तीलाई तत्काल उद्धार गरी सुरक्षा पोष्टमा ल्याइएको थियो । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो । हाल उनको वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको ढाड, कम्मर तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
मृत गैँडाको निकुञ्जकै प्राविधिक टोलीले पोस्टमार्टम गरेको छ । पेटभन्दा माथि करङ्गको भागमा गोली लागेका कारण मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । करिब २४ वर्ष उमेरको अनुमान गरिएको उक्त गैँडाको खाग र खुर सुरक्षित अवस्थामा रहेको निकुञ्जले जनाएको छ ।
घटना भएको क्षेत्र अमलटारी सेक्टरबाट करिब पाँच किलोमिटरभित्र निकुञ्जको कोर एरियामा पर्दछ । जहाँ मानवीय गतिविधि न्यून हुने र वन्यजन्तुहरूको उच्च उपस्थिति रहने गर्दछ । यस्तो क्षेत्रमा गस्तीका क्रममा सुरक्षाकर्मीले उच्च जोखिम मोल्नुपर्ने अवस्था रहेको निकुञ्ज स्रोतको भनाइ छ ।
यस घटनाले एकातिर सुरक्षाकर्मीको ज्यान जोगाउने चुनौती देखाएको छ भने अर्कोतर्फ संरक्षित वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीचको सन्तुलन कति जटिल छ भन्ने प्रश्न पनि उठाएको छ । निकुञ्ज प्रशासनले घटनाको थप अध्ययन गर्दै भविष्यमा यस्ता जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल भइरहेको जनाएको छ ।
























