
झापा । पश्चिम एसियामा जारी तनावको प्रत्यक्ष असर झापाको विकास निर्माणमा परेको छ। पेट्रोलियम पदार्थ र बिटुमिनको चरम अभाव भएपछि निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तारको काम सुस्ताएको छ।
सडक कालोपत्र गर्ने मुख्य सिजनमै कच्चा पदार्थको अभाव भएपछि निर्माण कम्पनी इभ्रास्कन कालिका जेभीले काम अघि बढाउन नसकेको हो। आयोजनाका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईंका अनुसार कम्पनीसँग मौज्दात रहेको बिटुमिनले अबको १०–१५ दिन मात्र धान्ने अवस्था छ। वर्षाअघि २२ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गर्न ‘बेस’ बिछ्याएर तयार पारिए पनि बिटुमिन नहुँदा काम ठप्प हुने स्थिति सिर्जना भएको छ।
नेपाल आयल निगमले डिजेलमा लगाएको कोटा प्रणालीका कारण मेसिनरी उपकरण चलाउन पर्याप्त इन्धन उपलब्ध हुन सकेको छैन। यता, मध्यपूर्वको तनावले गर्दा बिटुमिनको मूल्य अत्यधिक बढेको र आयातका लागि खोलिएका एलसी (प्रतीत पत्र) समेत फिर्ता हुन थालेको निर्माण व्यवसायीले आयोजनालाई जानकारी गराएका छन्।
काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का प्रमुख सीडीई सुनिलबाबु पन्तले पेट्रोलियम संकट र प्रतिकूल मौसमका कारण निर्माणमा गम्भीर बाधा पुगेको बताए। मध्यपूर्वको तनाव नरोकिए हप्ता–दश दिनमै काम पूर्ण रूपमा रोकिन सक्ने उनले चेतावनी दिए।
१० अर्ब ६ करोड ९४ लाख रुपैयाँको लागतमा स्तरोन्नति भइरहेको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर लामो यो सडक खण्ड राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको छ। समयमै काम नसकिए यसले आगामी वर्षायाममा स्थानीय बासिन्दा र यातायात सञ्चालनमा निकै सास्ती दिने निश्चित देखिन्छ।
























