तिम्बुङ पोखरीमा पर्यटकको लर्को

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार १४:०४

पाँचथर। पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पर्ने प्रसिद्ध तिम्बुङ पोखरी क्षेत्र अहिले हिउँले ढपक्कै ढाकिएको छ। हिउँदभर नपरेको हिउँ चैत लागेपछि पटक-पटक पर्दा यहाँको वातावरण निकै मनमोहक बनेको छ। अनौठो कुरा त के छ भने, यो समय यहाँ घुम्नका लागि ‘अफ सिजन’ मानिए पनि पर्यटकको आगमन भने उत्साहजनक देखिएको छ।

समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी जाने मुख्य सिजन जेठदेखि कात्तिकसम्म हो। तर, यस वर्ष हिउँ हेर्न र खेल्नका लागि काठमाडौँ र पोखरा जस्ता टाढाका सहरबाट समेत पर्यटकहरू यहाँ आइपुगेका छन्। पर्यटन व्यवसायी अमिर राईका अनुसार पहिले ‘अफ सिजन’ मा पर्यटक शून्य हुने यस क्षेत्रमा अहिले बाह्रै महिना चहलपहल देखिन थालेको छ।

मनोरम डाँडाकाँडा, हिउँले छोपिएका थुम्का र बाटोमा देखिने लालीगुराँसको जङ्गलले पर्यटकलाई लोभ्याएको छ। ताप्लेजुङको बाटो भएर मात्रै यस वर्ष ५ हजारभन्दा बढी पर्यटक तिम्बुङ पोखरी पुगेका छन्। सवारी साधन पुग्ने ठाउँदेखि कम्तीमा दुई दिनको पैदल यात्रा गर्नुपर्ने भए पनि यहाँको प्राकृतिक सौन्दर्य, बहुमूल्य जडीबुटी र डाँफे जस्ता पन्छीहरू हेर्न पर्यटकहरू कष्ट सहेरै पुग्ने गरेका छन्।

तिम्बुङ पोखरी मात्र होइन, इलाम र पाँचथरको सिमानामा पर्ने सन्दकपुर, फालौट, चारराते र चिवाभञ्ज्याङ क्षेत्रमा पनि चैत लागेपछि पटक-पटक हिमपात भएको छ। स्थानीय श्याम लिम्बूका अनुसार गर्मी सुरु हुने बेलासम्म पनि लगातारको हिमपातले गर्दा जनजीवन चिसो छ। भारतको पश्चिम बंगाल र सिक्किमदेखि आउने पर्यटकका कारण सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.