प्याब्सन झापाको निर्णय: शैक्षिक सत्र २०८३ व्यवस्थित बनाइने

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २८, शनिबार १५:०७

बिर्तामोड। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ। जिल्लास्तरीय बैठकपछि पत्रकार सम्मेलन गर्दै प्याब्सनले नयाँ सत्रको तयारीमा जुट्न सदस्य विद्यालयहरूलाई आह्वान गरेको हो।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले शैक्षिक सत्र सुरु हुनुअघि नै वार्षिक कार्ययोजना, विद्यालय सुधार योजना र शिक्षक तालिम सञ्चालन गर्न आग्रह गरे। बैठकले कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको नतिजा चैत मसान्तभित्रै सार्वजनिक गरी भर्ना प्रक्रियालाई तीव्र बनाउने निर्णय गरेको छ।

सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेकोप्रति प्याब्सनले कडा असन्तुष्टि जनाएको छ। दुई दिन बिदा दिँदा वर्षमा थप ५२ दिन विद्यालय बन्द हुने र यसले शैक्षिक तालिका पूर्ण रूपमा प्रभावित हुने अध्यक्ष कार्कीले बताए। ‘न्यूनतम २०५ दिन विद्यालय सञ्चालन भए मात्र पाठ्यक्रम सकिन्छ, अब वर्षे, हिउँदे र अन्य पर्व बिदा कटौती गर्नुको विकल्प छैन,’ उनले भने। इन्धन बचतका नाममा गरिएको बिदाले शिक्षकहरूलाई कक्षा तालिका (रुटिङ) बनाउनसमेत कठिनाइ भएको उनको दाबी छ।

नेपालमा पठनपाठन ढिलो सुरु हुने र बिदा धेरै हुने भएपछि झापाका बिर्तामोड र मेचीनगर क्षेत्रका केही अभिभावकले आफ्ना बालबालिकालाई भारततर्फका विद्यालयमा पठाउन थालेकोप्रति प्याब्सनले चिन्ता व्यक्त गरेको छ। अध्यक्ष कार्कीले यसले ‘नेपालमा पढाइ हुँदैन’ भन्ने गलत सन्देश प्रवाह गरेको बताए।

यसैबीच, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले शुल्कका विषयमा सामाजिक सञ्जालमा फैलिएको भ्रमको खण्डन गरे। उनले संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०७२ अनुसार नै शुल्क निर्धारण भइरहेको स्पष्ट पारे। सचिव लक्ष्मी उप्रेतीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्याब्सनले शैक्षिक सत्र छोट्याउने सरकारी निर्णयको औचित्यमाथि समेत प्रश्न उठाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.