
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक सवारी साधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। विभागले एक सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ बमोजिम तोकिएका सिटहरू सुरक्षित नराख्ने सवारी धनी र यातायात व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो।
ऐनअनुसार प्रत्येक सार्वजनिक सवारीमा अशक्त व्यक्तिहरूका लागि चार वटा र महिलाहरूका लागि दुई वटा सिट अनिवार्य रूपमा आरक्षित राख्नुपर्ने प्रावधान छ। पछिल्लो समय स्थानीय तथा लामो दूरीका रुटमा चल्ने सवारीसाधनहरूले यो नियम पालना नगरेको भन्दै सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि विभागले यस्तो कडा निर्देशन दिएको हो।
विशेष गरी लामो दूरीमा चल्ने सवारी साधनको हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा कम्तीमा चार घण्टा अगाडिसम्म त्यस्ता सिटहरू सुरक्षित राख्नुपर्ने नियम विभागले प्रस्ट पारेको छ। विभागले सम्पूर्ण सवारी धनी तथा यातायात सेवा सञ्चालकहरूलाई कानुनको पूर्ण पालना गर्न सूचित गर्दै अटेर गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने बताएको छ।
























