
धनकुटा । धनकुटा नगरपालिका–३ र ६ को सिमाना पर्ने कागतेमा गोठभित्र लुकेको अवस्थामा करिब १३ फिट लामो विषालु सर्प राजगोमन सर्पको उद्धार गरिएको छ ।
बोधप्रसाद वाग्लेको गोठमा तीन दिनदेखि बसिरहेको उक्त सर्पलाई उद्धारकर्ता प्रदीप श्रेष्ठले नियन्त्रणमा लिएका हुन् । महालक्ष्मी नगरपालिका–५, लेगुवाका श्रेष्ठले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर जोखिममुक्त बनाएका थिए ।
समुद्री सतहबाट करिब १,३०० मिटर उचाइमा रहेको पहाडी क्षेत्रमा यति ठूलो र विषालु सर्प भेटिनु दुर्लभ घटना मानिएको छ । उद्धारकर्ता श्रेष्ठका अनुसार राजगोमन अत्यन्तै विषालु सर्प हो । जसको टोकाइले ज्यानै जान सक्ने खतरा हुन्छ । उनका अनुसार नचलाएसम्म यसले आक्रमण गर्दैन । तर, छोएमा, चलाएमा र उसलाई असर पुग्ने काम गरेमा उत्तेजित भएर अत्यन्त आक्रामक बन्छ ।
उद्धार गरिएको सर्पलाई डिभिजन वन कार्यालयसँग समन्वय गरेर सुरक्षित वन क्षेत्रमा छोड्ने तयारी भइरहेको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिएका छन् । श्रेष्ठ विगत ९ वर्षदेखि सर्प उद्धार कार्यमा सक्रिय रहँदै आएका छन् । उनका अनुसार पछिल्लो समय धनकुटा, महालक्ष्मी र पाख्रीबास क्षेत्रबाट समेत राजगोमन भेटिने क्रम बढेको छ ।
उनले पछिल्ला वर्षहरूमा पाँचवटा यस्ता सर्प उद्धार गरेर सुरक्षित रूपमा जंगलमा छोडिसकेको बताएका छन् । श्रेष्ठका अनुसार जलवायु परिवर्तन, बासस्थानको परिवर्तन तथा मानव बस्ती विस्तारका कारण यस्ता विषालु सर्पहरू पहाडी क्षेत्रमा देखिन थालेका हुन् । यस्ता सर्प पहिले तराई र घना वन क्षेत्रमा मात्र सीमित थिए ।
























