
संखुवासभा । संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा शनिबार दिउँसे ट्याक्टर दुर्घटना हुँदा ११ वर्षीय बालकको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खाँदबारी नगरपालिका–९ का ११ वर्षीय मनिष कुमालको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
दुर्घटनापछि स्थानीय र नेपाली सेना इन्द्र गुल्मको टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई अस्पताल पुर्याएको थियो । घटनापछि ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ ।
























