
काठमाडौं । ‘समृद्धिका लागि वनस्पति’ भन्ने मूल नारासहित आज (आइतबार) देशभर २७औँ वनस्पति दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ ।
वनस्पति संरक्षण, जैविक विविधताको जगेर्ना र हरित अर्थतन्त्रको विकासलाई केन्द्रमा राखेर दिवस मनाइने गरिएको छ । यस अवसरमा सरकारी तथा गैरसरकारी निकाय, विद्यालय, स्थानीय तह तथा विभिन्न संघसंस्थाहरूले वृक्षारोपण, सचेतनामूलक कार्यक्रम र जडीबुटीसम्बन्धी प्रदर्शनी गर्ने गर्छन् ।
यसै अवसरमा वनस्पति विभागले आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदैछ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरू, अनुसन्धानकर्ता, किसान तथा सरोकारवाला पक्षहरूको सहभागिता रहने बताइएको छ । जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्धन तथा व्यवसायीकरणलाई अझ प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् ।
सरकारले वनस्पति स्रोतलाई प्राकृतिक सम्पदाका रूपमा मात्र नभई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै आएको छ । विशेषगरी नेपालमा पाइने जडीबुटी तथा औषधिजन्य वनस्पतिको उचित संरक्षण र उपयोगबाट ग्रामीण अर्थतन्त्र सुदृढ गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
वनस्पति दिवसले वातावरणीय सन्तुलन कायम राख्दै हरियाली विस्तार गरेर दिगो विकास लक्ष्य हासिल गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जैविक विविधताको संरक्षणसँगै हरित अर्थतन्त्र निर्माणतर्फ देशलाई अग्रसर गराउने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको हो ।
























