
काठमाडौं । नेपाली चलचित्र तथा संगीत इतिहासमा स्वरसम्राज्ञी आशा भोसलेले दिएको योगदान विशेष रूपमा स्मरणीय छ । भारतीय संगीतकी अत्यन्तै बहुमुखी र चर्चित गायिका आशाले नेपाली चलचित्र र आधुनिक गीत संगीतमा पनि गहिरो छाप छोडेकी छिन् ।
त्यही छाप छाड्दै उनले ९२ वर्षको उमेरबाट संसरबाट बिदा लिइन् । भारतीय गायिका आशा भोसलेको स्वरले सजिएको नेपाली संगीतको स्वर्णिम यात्रा सधैं र सबैका लागि अविस्मरणीय रहने छ ।
सन् १९४३ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी उनीले समयक्रममा नेपाली संगीतलाई समेत नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेकी हुन् । नेपाली संगीतको स्वर्णिम कालखण्डमा नारायण गोपाल, रञ्जित गजमेर, उदित नारायण झा, प्रकाश श्रेष्ठ, प्रेमध्वज प्रधान, शम्भुजित बास्कोटा, किरण खरेल, यादव खरेललगायतका स्रष्टाहरूसँगको सहकार्यले उनका गीतहरू अझ अमर बनेका छन् ।
आशाले गाएका नेपाली गीतहरूमध्ये ‘साउने झरीमा’ अत्यन्तै लोकप्रिय छ । रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रहेको यो गीत आज पनि उत्तिकै रुचाइन्छ ।
त्यस्तै, पुरानो क्लासिक चलचित्र माइतीघर को ‘बसन्त नै बस्न खोज्छ यहाँ’ गीत नेपाली संगीत इतिहासकै महत्वपूर्ण सिर्जना मानिन्छ । जयदेवको संगीत र किरण खरेलको शब्दले यो गीतलाई कालजयी बनाएको छ ।
चलचित्र चिनोमा रहेको ‘मोहनी लाग्ला है’ गीत नारायण गोपालसँगको युगल स्वरमा सजिएको छ । जसले नेपाली युगल गीतको परम्परालाई नयाँ उचाइ दिएको छ ।
चलचित्र लाहुरेको ‘पहाडको माथि–माथि’ गीत पनि नारायण गोपालसँगै गाइएको अर्को स्मरणीय गीत हो । कुसुम गजमेर र तुलसी घिमिरेको शब्द तथा रञ्जित गजमेरको संगीतले यो गीतलाई विशेष बनाएको छ ।
चलचित्र मायालुको ‘को होला मेरो मायालु’ र ‘टाढा भै नदेउ फेरि’ जस्ता गीतहरू आशाको स्वरको अर्को उत्कृष्ट उदाहरण हुन् । ‘आज हाम्रो भेट भाको दिन’ गीतमा उदित नारायण झासँगको युगल स्वर सुन्न सकिन्छ । जसले आधुनिक नेपाली प्रेम गीतहरूमा लोकप्रियता कमाएको छ ।
आशा भोसले ‘गैरी खेतको शिरै हान्यो’ लोकशैलीमा आधारित गीत हो । जुन विद्यालय तथा सांस्कृतिक कार्यक्रममा आज पनि व्यापक रूपमा प्रयोग हुन्छ । ‘यति धेरै माया दियौ’ गीतमा प्रकाश श्रेष्ठसँगको युगल स्वर सुन्न सकिन्छ भने ‘माया त माया हो’ नारायण गोपालसँगको अर्को भावनात्मक सिर्जना हो ।
नेपाली संगीतमा विदेशी पृष्ठभूमिबाट आए पनि आशा भोसलेको स्वरले नेपालीपनलाई आत्मसात् गर्दै अमिट छाप छोडेको छ । उनले स्वरले सजिएका नेपाली गीतहरू आज पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छन् ।

























