
इलाम । नयाँ वर्ष २०८३ को पहिलो दिन नै इलाममा एउटा दुःखद् घटना घटेको छ । कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा देउमाई नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।
इलामको देउमाई नगरपालिका–८ आमबोटेका ६० वर्षीय मनबहादुर मगरको मंगलबार बिहान ९ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकी रामबहादुर मगरको घरमा कुखुराको मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर मानबहादुरको ज्यान गएको हो ।
नयाँ वर्षको अवसरमा छिमेकीको घरमा खाना खान गएका मगरलाई अचानक असहज भएपछि तत्काल उद्धारको प्रयास गरिए पनि ज्यान जोगाउन नसकिएको बताइएको छ । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय इलामबाट इन्स्पेक्टर मौसम उदास नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले सामान्य देखिने यस्तो घटनाले गम्भीर परिणाम निम्त्याउने हुँदा खाना खाने क्रममा विशेष सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ ।
























