पश्चिमी वायुको असर : वर्षा र हिमपातको सम्भावना

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार ०७:१७

काठमाडौं । देशभर मौसममा फेरि परिवर्तन देखिएको छ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव सक्रिय हुँदा विभिन्न प्रदेशका पहाडी एवं हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (बुधबार) बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागको मौसममा बदली देखिएको छ भने केही स्थानमा हल्का वर्षा र हिमपातसमेत भइरहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश जिल्लामा मौसम सामान्यतया सफा छ ।

बुधबार दिनभर कोशी प्रदेशको पहाडी भेगमा मौसम बदली रहनेछ । यस क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, गण्डकी प्रदेशका पहाडी भू–भाग र अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

देशका बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ । घाम लाग्ने भएकाले तराईमा दैनिक जनजीवन सामान्य रहनेछ ।

मौसमविद्हरूका अनुसार पश्चिमी वायु सक्रिय हुँदा विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम छिटो परिवर्तन हुने भएकाले सतर्कता अपनाउन आवश्यक हुन्छ । वर्षा र हिमपातका कारण ती क्षेत्रमा सामान्य जनजीवन प्रभावित हुन सक्ने भएकाले यात्रु तथा स्थानीय बासिन्दालाई सावधानी अपनाउन सुझाव दिइएको छ ।

हालको मौसम प्रणालीका कारण तत्काल ठूलो वर्षा वा चरम मौसमी जोखिम भने देखिएको छैन । तर, मेघगर्जन, चट्याङ र हिमपातले स्थानीय रूपमा असर पार्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहनुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.