
सुनसरी । सुनसरीको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा गाँजा र प्रतिबन्धित औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट प्रहरीले २ सय २५ किलोग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले वैशाख १ गते राति ९ बजेतिर गाँजा बरामद गरेको हो ।
सप्तकोशी नदीमा बगाएर ढुवानी गर्ने बाँसको मुनि प्लास्टिकको ९ वटा बोरामा लुकाएर राखेको अवस्थामा सो गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई प्रहरीले को ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट प्रहरीले ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँचका क्रममा भोजपुर नगरपालिका–७ का युजिन श्रेष्ठलाई औषधीसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



















