
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित स्थानहरूमा छापा मारेको छ ।
विभागको टोलीले मंगलबार काठमाडौंस्थित उनीहरूको निजी निवास र हिमालयन रिइन्स्योरेन्स कम्पनीको कार्यालयमा एकैसाथ छापा हानेको हो ।
छापामार क्रममा अनुसन्धानका लागि आवश्यक कागजात तथा प्रमाण संकलन गरिएको विभाग स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा वित्तीय कारोबार र लगानीसँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिइएको बुझिएको छ । सम्पत्ति शुद्धीकरण कसुरमा यसअघि नै पक्राउ परेका भट्ट र अग्रवाल हाल हिरासतमा छन् ।
उनीहरूमाथि अवैध आर्जन तथा स्रोत नखुलेको सम्पत्ति व्यवस्थापनसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ । दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्सका प्रमुख शेयरधनीमध्ये एक मानिन्छन् ।
पछिल्लो छापामार कारबाहीलाई विभागले अनुसन्धानको महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ ।
























