नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ, घरभित्रै बनेका ‘तस्करी मार्ग’ बन्द गर्दै प्रशासन

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार १७:०६

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा लामो समयदेखि लुकिछिपी हुँदै आएको तस्करी नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र कारबाही कडा पारेका छन् । स्थानीय प्रशासनले ‘तस्करी मार्ग’ बन्द गराउन थालेको छ ।

विशेषगरी विराटनगरको रानीस्थित दशगजा क्षेत्र आसपासका बस्तीहरूमा घरभित्रैबाट सीमापार सामान ओसारपसार गर्ने ‘गुप्त मार्ग’ फेला परेपछि प्रशासनले त्यसलाई बन्द गराएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार सीमा क्षेत्रको अनुगमनका क्रममा नेपाली भूमिमा निर्माण गरिएका केही घरहरूमा भारततर्फ जाने गरी विशेष प्रकारका प्वाल तथा ढोकाजस्ता संरचना बनाइएको भेटिएको छ ।

त्यहाँबाट दैनिक उपभोग्य वस्तु तथा कपडा लगायतका सामान भारतबाट नेपालतर्फ लुकिछिपी ल्याउने गरिएको कटेलले बताए । उनले सीमा क्षेत्रमा देखिएको यस्तो प्रवृत्ति नियन्त्रणका लागि तत्कालै संरचना बन्द गर्ने र निगरानी बढाउने काम भइरहेको जानकारी दिए ।

‘दशगजा क्षेत्रमा अनुगमन गर्दा घरभित्रैबाट सामान वारपार गर्ने प्वालहरू फेला परे । अहिले ती संरचना बन्द गरिसकिएको छ । दैनिक उपभोग्य सामग्री, खाद्यवस्तु र कपडा जस्ता सामान अवैध रूपमा ल्याउने गरेको पाइयो,’ उनले भने । कटेलका अनुसार यस्तो गतिविधि लामो समयदेखि क्रमशः विकसित हुँदै आएको आशंका छ ।

यस्ता गतिविधिले सीमा सुरक्षालाई संवेदनशील बनाउनुका साथै राजस्व प्रणालीमा पनि प्रत्यक्ष असर पारिरहेको सुरक्षा अधिकारीको बुझाइ छ । भारततर्फ सहजै आवतजावत गर्न मिल्ने गरी घरमा बनाइएका प्वाल तथा ढोका टालिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सीमा क्षेत्रमा हुने गरेको अवैध कारोबार नियन्त्रणका लागि विशेष अपरेसन सञ्चालन भइरहेको बताएका छन् । नेपाल–भारत सीमा क्षेत्रका विभिन्न नाकाहरुलाई उच्च निगरानीमा राखिएको उनले बताए ।

विशेषगरी पूर्वी नाका काँकडभिट्टा र विराटनगरको रानी नाका आसपासका क्षेत्रहरु उच्च सुरक्षा निगरानीमा छन् । भारतसँग खुला सीमा रहेका अन्य नाकामा पनि सुरक्षा उपस्थिति मजबुत बनाइएको स्थानीय प्रशासलने जनाएको छ ।

‘घरभित्रैबाट सामान ओसारपसार गर्न बनाइएका संरचना सामान्यजस्तै देखिए पनि तिनको प्रयोग तस्करीका लागि हुने गरेको पुष्टि भएको छ,’ एसपी कटवालले भने, ‘पहिचान गरिएका संरचनाहरू बन्द गरिएको छ ।’ सीमा क्षेत्रमा तस्करी एवं राजस्व चुहावट रोक्न विशेष निगरानी बढाइएको जानकारी उनले दिए ।

कोशी प्रदेशका सीमा नाका हुँदै एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान भारतबाट नेपाल ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ । ‘राजस्व चुहावट नियन्त्रणका लागि विशेष अपरेसन सञ्चालन भइरहेको छ । सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम पनि चलाइएको छ । बिना भन्सार सामान ल्याउने प्रवृत्ति नियन्त्रण गर्न कडाइ गरिएको छ,’ कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले भने ।

 

सीमा क्षेत्रबाट हुने तस्करीको समस्या अवैध कारोबारमा मात्र सीमित छैन । त्यसले स्थानीय बजारमा समेत असर पारिरहेको व्यवसायीहरूले बताएका छन् । सीमावर्ती क्षेत्रका बासिन्दा दैनिक उपभोग्य वस्तु सस्तो पर्ने भएकाले भारतीय बजारतर्फ आकर्षित हुने र त्यहाँबाट लुकाइछिपाइ सामान ल्याउने प्रवृत्ति बढ्दा नेपालतर्फका खुद्रा बजार कमजोर बन्दै गएको व्यवसायीहरु बताउँछन् ।

उनीहरुका अनुसार अवैध आयातका कारण स्थानीय व्यापारीले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना भएको छ । समान मूल्यमा कर तिरेर सामान बिक्री गर्नुपर्ने नेपाली व्यापारीहरूलाई अवैध रूपमा भित्रिने सस्तो सामानले ठूलो असर पुर्‍याइरहेको हो ।

सीमा क्षेत्रमा देखिएको यस्तो गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय, प्रशासन, स्थानीय तह र समुदायबीच समन्वय आवश्यक रहेको डीआईजी घिमिरेको भनाइ छ । ‘दशगजा क्षेत्र अन्तर्राष्ट्रिय सीमाको संवेदनशील भू–भाग भएकाले त्यहाँ कुनै पनि संरचना निर्माण तथा गतिविधि कानुनी रूपमा निषेधित हुने भएकाले उच्च सतर्कता अपनाइएको छ,’ उनले भने ।

घरभित्रैबाट सीमापार सामान ओसारपसार गर्ने प्रवृत्ति नियन्त्रण गर्दै तस्करीलाई निरुत्साहित गर्न सुरक्षा सक्रियता बढाइएको उनले बताए । सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न गृह मन्त्रालयले समेत निर्देशन दिएको छ । निर्देशनअनुसार सीमा सुरक्षा बल, नेपाल प्रहरी र प्रशासनले संयुक्त रूपमा निगरानी बढाएका छन् ।

‘सीमा क्षेत्रबाट हुने तस्करीले राजस्वमा प्रत्यक्ष असर पार्छ,’ एक सुरक्षा अधिकारीले भने, ‘अवैध गतिविधिले राष्ट्रिय सुरक्षामा पनि प्रभाव पार्ने भएकाले यसलाई गम्भीरतापूर्वक लिइएको छ ।’ सीमा क्षेत्रमा नियमित गस्ती, निगरानी र आकस्मिक चेकजाँचलाई थप सुदृढ बनाइएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

सीमामा आवतजावत गर्ने व्यक्तिहरूको कडाइका साथ जाँच भइरहेको र शंकास्पद गतिविधि देखिएमा तत्काल नियन्त्रणमा लिन थालिएको उनीहरुको भनाइ छ । स्थानीय प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई पनि कानुनी दायित्वबारे सचेत गराउँदै अवैध गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । सीमा सुरक्षा सरकारी निकायको मात्र नभएर स्थानीय समुदायको पनि साझा जिम्मेवारी भएको अधिकारीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.