
काठमाडौं । केही समयदेखि यद्धग्रस्त इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा अन्ततः सकुशल मुक्त भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै झाको रिहाइ पुष्टि गरेका हुन् ।
मन्त्री खनालका अनुसार इरानी अधिकारीहरूले उनलाई रिहा गरिसकेका छन् । अब सुरक्षित रूपमा नेपाल फर्काउने प्रक्रिया अगाडि बढाइएको छ । झालाई स्वदेश फर्काउन कूटनीतिक पहल तीव्र बनाइएको छ ।
हाल इरानका लागि नेपालको मानार्थ महावाणिज्यदूतको कार्यालय तथा कतारस्थित नेपाली दूतावास झासँग निरन्तर सम्पर्कमा रहेका छन् । दुवै निकायले उनको स्वास्थ्य अवस्था, यात्रा व्यवस्था र आवश्यक कानुनी प्रक्रियामा समन्वय गरिरहेका छन् ।
उदयपुरका ३३ वर्षीय झा दुबईस्थित एक सिपिङ कम्पनीमा कार्यरत थिए । इन्धन ढुवानीका क्रममा इरानी सेनाले उनलाई नियन्त्रणमा लिएको थियो ।
उनको रिहाइका लागि परिवार र नेपाल सरकारले निरन्तर पहल गर्दै आएका थिए । सरकारले अब झालाई सकुशल स्वदेश फर्काउने तयारी तीव्र बनाइएको जनाएको छ ।



















