सातदोबाटो सेमिफाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार ०७:१८

सुनसरी । सातदोबाटो युथ क्लब, ललितपुर १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा पुगेको हो ।
इटहरी रंगशालामा सम्पन्न खेलमा सातदोबाटोलाई जित दिलाउने क्रममा सुरजज्यू ठकुरी र समीर तामाङले १–१ गोल गरे ।

Advertisement

खेलको ३१औं मिनेटमा सुरजले झण्डै ३० यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै पोस्टको दिशा तय गरेको थियो । त्यसको चार मिनेटपछि अर्थात् ३५औं मिनेटमा समीरले उत्कृष्ट गोल गर्दै पहिलो हाफमै टिमको जित निश्चित गराए ।

जागृतिका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै राज भुषालको प्रहार पोस्टमा लागेर फर्किएपछि समीरले त्यसलाई सदुपयोग गरेका हुन् । मध्यान्तरपछि खेलमा फर्कने प्रयास गरे पनि सफल हुन नसक्दा आयोजक टोली जागृति पहिलो खेलबाटै बाहिरिन बाध्य बन्यो ।

उत्कृष्ट प्रदर्शन गरेका समीर तामाङ ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । अब सातदोबाटोले बिहीबार हुने प्लानिङ ब्वाइज युनाइटेड र युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) बीचको विजेतासँग शनिबारको अन्तिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल वैशाख ७ गते हुनेछ । विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.