
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक वीरेन्द्रनगरमा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आइतबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीसहित सम्बन्धित सरकारी निकायका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकमा तयारी तथा व्यवस्थापनका विभिन्न पक्षमा छलफल भइरहेको छ ।
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन, खेलाडीको सहभागिता, खेल सञ्चालनको योजना, सुरक्षा, आवास तथा अन्य व्यवस्थापन बैठकका प्रमुख एजेन्डा रहेका छन् ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन प्रदेश र केन्द्रस्तरबाट भइरहेको तयारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठक केन्द्रित रहेको जनाइएको छ ।

























