‘धेरै वाचापत्र नल्याउनु, सम्पत्तिको स्रोत खोलिदिनु’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार ०८:१३
हर्क साम्पाङ र बालेन शाह ।

विराटनगर । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित सरकारका सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार उनले नेताहरूले जनतासामु ल्याउने वाचापत्रभन्दा पनि आफ्नो सम्पत्तिको वास्तविक स्रोत खुलाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । साम्पाङले लेखेका छन्, ‘बालेन जी, अब धेरै वाचापत्र नल्याउनु है, जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले । अनि तपाईं लगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोलिदिनु, जनताले त्यही पर्खिराछन् ।’

Advertisement

सांसद साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक भए पनि त्यो सम्पत्ति कसरी आर्जन भयो भन्ने कुरा स्पष्ट नभएको बताएका छन् ।
उनका अनुसार स्रोत नखुलाइएको सम्पत्तिलाई जनताले शंकाको नजरले हेर्ने भएकाले पारदर्शिता अनिवार्य छ ।

उनले अघिल्ला पटक पनि यस्तै माग दोहोर्याउँदै आएका थिए । साम्पाङले सरकारमा बस्ने नेतृत्वले प्रतिज्ञा र योजनाभन्दा पहिले नै आर्थिक पारदर्शितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन् ।

साम्पाङको अभिव्यक्तिले सामाजिक सञ्जालमा पुनः राजनीतिक बहस चर्काएको छ । जहाँ समर्थक र विरोधी दुवै पक्षले आआफ्ना प्रतिक्रिया जनाइरहेका छन् ।

प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण अस्वाभाविक देखिएपछि चौतर्फी चासो बढिरहेको छ । मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरिएको भए पनि स्रोत उल्लेख नगरिएको र उल्लेख गरिएको स्रोत पनि भरपर्दो नभएको भनेर सर्वत्र आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.