
धनुषा । धनुषाको सबैला नगरपालिका–१२ का पूर्ववडाध्यक्ष प्रदीप महतो बुधबार राति मृत फेला परेका छन् ।
गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइ नहरको पूर्वी शाखाअन्तर्गतको पुल नम्बर ३ मुनि उनको शव भेटिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । स्थानीय बासिन्दाले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
इन्स्पेक्टर विजय दत्तका अनुसार राति करिब ११ बजे शव फेला परेको हो । घटनास्थल वरिपरि १० देखि १२ वटा बियरका खाली बोतलसहित अन्य मदिराजन्य सामग्री पनि भेटिएको प्रहरीले जनाएको छ ।
उनी समूहमा बसेर मदिरा सेवन गरिरहेको हुन सक्ने अनुमान गरिएको छ । मृत्युको ठोस कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । महतोसँगै रहेका भनिएका व्यक्तिहरू घटनापछि फरार रहेको र उनीहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान सकिएपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने उल्लेख गरेको छ ।



















