राहदानी केरमेट प्रकरणमा छानबिन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३, बिहीबार १४:००

काठमाडौं । अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली नागरिकहरूको राहदानीमा अनधिकृत रूपमा हस्तलिखित टिप्पणी र केरमेट गरिएको विषय सार्वजनिक भएपछि सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ ।

यूएई प्रस्थान गर्ने यात्रुहरूको राहदानीमा प्रस्थान छापसँगै अंग्रेजीमा ‘रोजगारी गर्न कडाइका साथ निषेध गरिएको छ । भ्रमण मात्रका लागि, १०–६–२०२६ सम्म’ तथा ‘यूएईमा काम गर्न अनुमति छैन’ जस्ता वाक्यहरू कर्मचारीले लेख्ने गरेको गुनासो यात्रुहरूबाट आएको विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । यसपछि विभागले उक्त अभ्यासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

विभागका प्रवक्ता टीकाराम ढकालद्वारा जारी सूचनामा कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने नीति वा निर्णय नरहेको स्पष्ट गरिएको छ । राहदानीमा यस्तो प्रकारको हस्तलिखित टिप्पणी वा केरमेट गर्ने अभ्यास गैरकानुनी भएको भन्दै संलग्न कर्मचारीलाई पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

विभागले विदेश जाने नेपाली नागरिकहरूलाई अनावश्यक झन्झटबाट जोगाउन नीतिगत सुधार र प्रणालीगत सरलीकरण गरिएको पनि स्पष्ट पारेको छ । भिजिट भिसामा विदेश जान चाहने यात्रुका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य देशको हवाई टिकट र भिसा तथा स्वघोषणा भए पुग्ने व्यवस्था लागू गरिएको विभागको भनाइ छ ।

अध्यागमन प्रशासनले यात्रुहरूको आवागमनलाई सहज, व्यवस्थित र झन्झटरहित बनाउन प्रयास गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षासमेत सुदृढ गर्ने उद्देश्यका साथ प्रणाली आधुनिकीकरण भइरहेको जनाएको छ । तर, विभागले प्रचलित कानुन र आधिकारिक निर्णयभन्दा बाहिर गएर कुनै पनि कर्मचारीले व्यक्तिगत तजबिजीका आधारमा सर्त तोक्ने वा कागजातमा लेख्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

उक्त प्रकरणमा दोषी देखिने कर्मचारीमाथि आवश्यक विभागीय कारबाही गरिने पनि स्पष्ट गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.