
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज (शुक्रबार) नयाँ सभापति पाउने भएका छन् ।
समितिहरूको सभापति चयनका लागि दिउँसो निर्वाचन प्रक्रिया अघि बढाइने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार समितिहरूमा सभापतिका लागि बिहीबार नै मनोनयन दर्ता भइसकेको छ । शुक्रबारको बैठकमा मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत भएपछि सभापति निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटाले मनोनयन दर्ता गरेकी छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालले सभापतिका लागि उम्मेदवारी दिएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिस्पर्धा हुने भएको छ । उक्त समितिको सभापतिमा रास्वपाका डा. ओजस्वी शेरचन र एमालेका गुरु बरालले मनोनयन दर्ता गराएका छन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको सचिवालयले जनाएको छ ।
त्यस्तै, संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुने भएको छ ।
दिउँसो हुने निर्वाचन प्रक्रियापछि सबै समितिहरूले नयाँ नेतृत्व पाउनेछन् । जसले संसदीय निगरानी र विधायिकी कामकारबाहीलाई थप सक्रिय बनाउने छ ।



















