मोरङमा ‘ड्रग फ्रि क्याम्पेन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार १७:२४

विराटनगर । भारतसँग खुला सीमा जोडिएको मोरङमा प्रहरीले ‘ड्राग फ्रि क्याम्पेन’ (लागुऔषध मुक्त मोरङ अभियान) चलाएको छ ।

भारतसँगको खुला सीमाका कारण मोरङमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेका बेला प्रहरी नयाँ अभियानसहित सक्रिय भएको हो । भारतबाट विभिन्न बाटो हुँदै भित्रिने लागुऔषधको दलदलमा नेपाली समाज फसिरहेका बेला मोरङ प्रहरीले भने ‘ड्राग फ्रि क्याम्पेन ईन मोरङ’ नाम दिएर विशेष अभियानलाई तीव्र पारेको छ ।

Advertisement

मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछाने लागुऔषध नियन्त्रणलाई केन्द्रमा राखेर अभियान चलाइएको बताउँछन् । पछिल्ला दिनहरूमा कडा निगरानी र नियमित चेकजाँचलाई तीव्र पारिएको उनको भनाइ छ ।

चेकजाँचकै क्रममा प्रहरीले दुई जनालाई विराटनगरबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेकाको साथबाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ । यस घटनालाई आधार बनाएर प्रहरीले लागुऔषध कारोबारसँग सम्बन्धित सञ्जालका बारेमा अनुसन्धानको दायरा विस्तार गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बिहीबार दिउँसो २ः३० बजेतिर विराटनगर महानगरपालिका–११ स्थित पारस अस्पतालको गेट अगाडि शंकास्पद अवस्थामा रहेका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक छन् । दुवै व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि तत्काल रोकेर खानतलासी गर्दा साथबाट लागुऔषध बरामद भएको डीएसपी लामिछानेले बताए ।

उनका अनुसार भारत बिहारका ४४ वर्षीय मोहमद सरिफ र मोरङको जहदाका ४० वर्षीया लालमन मुखियालाई पक्राउ गरिएको हो । प्लाष्टिकमा पोको पारेर ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगर बरामद भएको लामिछाने बताउँछन् । उनीहरुको साथबाट प्लास्टिकसहित १०५ ग्राम १३ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुवै जना लामो समयदेखि लागुऔषधको धन्दामा संलग्न रहेको पत्ता लागेको छ ।

सरिफले भारतबाट लागुऔषध ‘सप्लाई’ गर्ने र मुखियाले विराटनगरलगायत विभिन्न स्थानमा पुर्याउने गरेको पाइएको प्रहरीको भनाइ छ । डीएसपी लामिछानेका अनुसार लागुऔषध कहाँबाट ल्याइएको हो, कसलाई आपूर्ति गर्न लागिएको थियो र यसको पछाडि संगठित सञ्जाल छ वा छैन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर अभियानलाई व्यापक बनाइएको बताउँछन् । भारतसँग सीमा जोडिएका स्थानलाई संवेदनशील क्षेत्रका रूपमा लिँदै उच्च निगरानीमा राखेर चेकजाँच कडा पारिएको उनको भनाइ छ ।

सार्वजनिक स्थल, अस्पताल क्षेत्र, बसपार्क, सीमावर्ती नाकालगायत स्थानमा नियमित सुरक्षा अनुगमन बढाइएको छ । लागुऔषधको कारोबार एवं ओसारपसारमा संलग्नलाई कानुनी कारबाही हुने प्रहरीले जनाएको छ ।

एसपी कटवालले जनप्रतिनिधि, विभिन्न निकाय र समुदायसँग समन्वय गरेर अभियान तीव्र पारिएको बताए । उनले यस्ता अवैध गतिविधिका बारेमा सूचना दिएर सहयोग गर्न सबैमा आग्रह गरेका छन् । लागुऔषध नियन्त्रणलाई प्रभावकारी नबनाएमा समाज थप संकटमा पर्ने प्रहरीको बुझाइ छ ।

अभियान जिल्लाभर नै सञ्चालन गरिएको एसपी कटवालको भनाइ छ । ‘अभियानलाई पक्राउ वा कारबाहीमा सीमित नभई बहुआयामिक रूपमा अघि बढाइएको छ । प्रयोगकर्तालाई उपचार तथा पुनःस्थापनातर्फ मार्गदर्शन गर्ने, बिक्री तथा ओसारपसारमा संलग्नलाई कानुनी दायरामा ल्याउने र समुदायस्तरमा जनचेतना फैलाउने काम एकैसाथ भइरहेको छ,’ उनले भने ।

एसपी कटवालले लागुऔषधको बढ्दो समस्या नियन्त्रण गर्न प्रहरी मात्र नभई समुदाय, स्थानीय तह, विद्यालय र परिवार सबैको संयुक्त भूमिका आवश्यक रहेको बताएका छन् । उनका अनुसार अभियानअन्तर्गत कुकुरसहितको चेकजाँचलाई तीव्र पारिएको छ । सीमावर्ती क्षेत्रबाट हुने सम्भावित ओसारपसार रोक्न नियमित निगरानी र आकस्मिक चेकपोइन्टहरू समेत सक्रिय पारिएको उनको भनाइ छ ।

प्रहरीको कडाइसँगै पछिल्ला दिनहरूमा लागुऔषध कारोबारमा संलग्न समूहहरू दबाबमा परेका छन् । कारोबार एवं ओसारपसार हुने विराटनगर र आसपासका सम्भावित क्षेत्रमा प्रहरीले निरन्तर निगरानी गरिरहेको छ ।

‘लागुऔषधको संगठित गिरोहसँग सम्बन्धित सञ्जाल भत्काउन प्रहरी सक्रिय छ । नियन्त्रण चुनौतीपूर्ण भए पनि निरन्तर निगरानी, सूचना संकलन र समुदायको सहयोगले यसको नियन्त्रण सम्भव छ,’ एसपी कटवालले भने ।

मोरङमा सुरु गरिएको ‘लागुऔषध मुक्त मोरङ’ अभियानलाई प्रभावकारी ढंगले दीर्घकालीन रूपमा अघि बढाउने प्रहरीको योजना छ । सबै पक्षको सक्रियताले नै लागुऔषधको धन्दा नियन्त्रणमा सफलता प्राप्त हुने र संकटमा पर्नबाट समुदायलाई बचाउन सकिने कटवालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.