
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को करिब १२ वर्ष पुरानो र्याप ब्याटल भिडियोमाथि आपत्ति जनाउँदै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका केही व्यक्तिहरुले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
उजुरीकर्ताहरूले उक्त भिडियोमा प्रयोग भएका शब्दहरूले समुदायको मानमर्दन भएको र घृणा फैलाउने सामग्री समावेश भएको आरोप लगाएका छन् ।
वन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनलगायतले दर्ता गर्नका लागि बुझाएको उजुरीमा भिडियोमा प्रयोग भएका केही अभिव्यक्ति महिलाविरोधी तथा यौनिक अल्पसंख्यक समुदायप्रति अपमानजनक रहेको दाबी गरिएको छ ।
उनीहरूले ‘हिजडा’, ‘छक्का’जस्ता शब्दहरूको प्रयोगले सामाजिक रूपमा गलत सन्देश गएको भन्दै आपत्ति जनाएका छन् । उजुरीकर्ताहरूका अनुसार १२ वर्षअघि युट्युबमा अपलोड गरिएको बालेन र लिटल ग्रिजलबीचको र्याप ब्याटल अहिले पनि व्यापक रूपमा हेरिँदै आएको छ ।
यसले समुदायप्रति नकारात्मक धारणा निर्माण गरिरहेको छ । सो भिडियोमा दिवंगत र्यापर यमबुद्ध पनि देखिन्छन् । उनीहरूले साइबर ब्यूरोमार्फत भिडियो युट्युबबाट हटाउन, सार्वजनिक रूपमा माफी माग्न र उक्त सामग्रीबाट भएको आम्दानीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सकारात्मक सन्देश प्रवर्द्धनका काममा खर्च गर्न माग गरेका छन् ।
साथै, आवश्यक परे क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ । साइबर ब्यूरोले उजुरी बुझेर प्रक्रिया अघि बढाउने मौखिक आश्वासन दिएको भए पनि औपचारिक दर्ता भने अझै बाँकी रहेको बताइएको छ । भिडियो हालसम्म करिब १ करोड ५० लाखभन्दा बढी पटक हेरिएको जनाइएको छ ।

























