नेपालको धार्मिक चेतनामा पाथीभरा देवी मन्दिर केवल एउटा गन्तव्य होइन -यो विश्वास, तपस्या र जीवनको एउटा गहिरो अनुभव हो । त्यहाँ पुग्ने बाटो केवल उकालो मात्र होइन, त्यो आत्मासँगको संवाद हो तर आज यही पवित्र यात्रासँग जोडिएको केबल कारको बहसले हामीलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाएको छ -के आस्था केवल सक्षम शरीर भएका मानिसहरूको विशेषाधिकार हो ?
म आफैं यसको उत्तर खोज्ने एउटा साधारण उदाहरण हुँ । आजभन्दा करिब ३५ वर्षअघि, म २० वर्षको उमेरमा पहिलो पटक पाथीभरा पुगेको थिएँ । त्यो समयको ऊर्जा, त्यो जोश, त्यो विश्वास -सबैले मलाई त्यो उकालो जित्न साथ दिएका थिए । प्रत्येक पाइला कठिन थियो, तर प्रत्येक पाइला सन्तोषले भरिएको थियो । त्यो यात्रा केवल गन्तव्यसम्म पुग्ने थिएन, त्यो आफैंलाई चिन्ने प्रक्रिया थियो । तर समय सधैं उस्तै रहँदैन ।
१५ वर्षअघि फेरि प्रयास गरें -तर त्यो पटक मेरो शरीरले साथ दिएन। ठूलो फेदीसम्म पुगेर फर्कनुपर्‍यो ।
त्यसपछि पनि मन मानेन । पोहोर साल फेरि हिँडेँ -आशा थियो, “यसपटक सायद सकिएला ।” तर सानो फेदीभन्दा अगाडि पाइला नै उठेन । त्यो क्षण केवल शारीरिक हार थिएन -त्यो मनभित्रको एउटा गहिरो पीडा थियो । किनकि शरीर थाकेको थियो, तर आस्था अझै जीवित थियो ।
आस्था: समान अधिकार कि सीमित अवसर ?
हामीले पाथीभरा यात्रालाई सधैं “तपस्या” को रूपमा व्याख्या गरेका छौं । यो कुरा गलत होइन तर एउटा गम्भीर प्रश्न उठ्छ -“के तपस्या गर्न सक्ने क्षमता नै आस्थाको मापन हो ?”
यदि कोही वृद्ध छ, बिरामी छ, वा शारीरिक रूपमा कमजोर छ भने -के उसले भगवान् दर्शन गर्ने अधिकार गुमाउँछ ? यदि पाथीभरा पुग्ने बाटो केवल बलियो शरीर भएका मानिसहरूको लागि मात्र खुला रहन्छ भने, त्यो आस्था होइन -त्यो असमानता हो ।
केबल कार: सुविधा मात्र होइन, अवसर पनि
केबल कारको विरोध गर्नेहरू भन्छन् -“यसले तपस्याको मूल्य घटाउँछ, पवित्रता हराउँछ ।” तर के साँच्चै त्यस्तो हो ?
केबल कारले कसैलाई हिँड्न रोक्दैन । जो आफ्नो विश्वासलाई उकालोमा नाप्न चाहन्छ, ऊ अझै पनि हिँड्न सक्छ तर जो हिँड्न सक्दैन, उसलाई पनि दर्शन गर्ने अवसर दिनु -त्यो विकास मात्र होइन, मानवीय संवेदना हो ।
मेरो जस्तै हजारौं मानिसहरू छन् -जो एकपटक पुगेका छन्, फेरि जान चाहन्छन्, तर शरीरले साथ दिँदैन । के उनीहरूको चाहना कम पवित्र हो ? के उनीहरूको आस्था अधुरै रहनुपर्छ ?
जब हिउँले छोपिएको पाथीभरा मात्र टाढाबाट हेर्नु पर्छ…
आज म मोबाइलको स्क्रिनमा हेर्छु -हिउँले ढपक्क छोपिएको पाथीभराममा साथीहरु पुगेको । सेतो पहाडमाथि बसेको त्यो मन्दिर, जुन कहिल्यै मेरो पाइला चिनेको थियो । मन त्यहीँ पुगिसक्छ तर शरीर साथ दिँदैन । जाने रहर अझै उस्तै छ । दर्शन गर्ने इच्छा अझै उस्तै छ तर यथार्थ -म जान असमर्थ छु । यो पीडा शब्दमा बयान गर्न सजिलो छैन । किनकि यो केवल यात्रा छुटेको होइन -यो आफ्नै आस्थासँग टाढा भएको अनुभूति हो ।
विकास र संरक्षण: टकराव होइन, सन्तुलन
यो पनि सत्य हो -प्रकृति जोगाउनुपर्छ, वातावरण संरक्षण गर्नुपर्छ, पाथीभरा क्षेत्रको मौलिकता जोगिनुपर्छ तर विकास र संरक्षण एकअर्काका शत्रु होइनन् । सही योजना, पारदर्शिता र जिम्मेवारीका साथ अगाडि बढ्दा दुवै सम्भव छन् ।
निष्कर्ष: अधूरो यात्राको अधिकार
पाथीभरा केवल एउटा गन्तव्य होइन -यो जीवनका विभिन्न चरणहरूमा हामीले बोकेको विश्वास हो । तर जीवनको एउटा सत्य के हो भने -शरीर सधैं साथ दिँदैन । आज म हिँड्न सक्दिनँ तर मेरो मन अझै त्यही उकालोमा छ ।
यदि एउटा केबल कारले मलाई फेरि एकपटक त्यो हिउँले ढाकिएको मन्दिरसम्म पुग्न, त्यो दर्शन गर्न, त्यो अनुभूति फेरि बाँच्न मौका दिन्छ भने -त्यो सुविधा मात्र होइन, मेरो अधूरो यात्रालाई पूरा गर्ने अधिकार हो ।
अन्ततः प्रश्न केबल कारको होइन -हामी कति मानवीय, कति समावेशी समाज बनाउन चाहन्छौं भन्ने हो ।