
काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको बजार मूल्य समायोजन गर्ने निर्णय गरेको छ । कच्चा पदार्थ, ढुवानी र उत्पादन लागतमा अस्वाभाविक वृद्धि भएपछि हालकै मूल्यमा उद्योग सञ्चालन गर्न असम्भव भएको जनाउँदै महासंघले यस्तो कदम चालेको हो ।
एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले देशभर सञ्चालनमा रहेका ६२० भन्दा बढी पानी उद्योग र त्यसमा आश्रित ३० हजारभन्दा बढी मजदुरको भविष्य सुरक्षित गर्न मूल्य समायोजन अपरिहार्य भएको स्पष्ट पारेको छ ।
महासंघका अनुसार पछिल्लो समय पानी प्याकेजिङका लागि आवश्यक पर्ने बोटल, क्याप, र्यापिङ सामग्री र जार लगायतका कच्चा पदार्थको मूल्यमा ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । साथै, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ढुवानी खर्च समेत अकासिएको छ ।
मूल्यवृद्धिको साइनो अन्तर्राष्ट्रिय परिस्थितिसँग पनि जोडिएको महासंघको ठहर छ । विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिकाबीचको द्वन्द्वात्मक अवस्थाले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा अवरोध सिर्जना गरेको र त्यसको प्रत्यक्ष असर नेपाली पानी उद्योगको कच्चा पदार्थ आयातमा परेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले यो निर्णय नाफा कमाउने उद्देश्यले नभई उद्योग बचाउने अन्तिम विकल्पका रूपमा लिइएको बताएको छ । ‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो,’ महासंघले भनेको छ, ‘उद्योगको दिगोपना, गुणस्तर कायम र उपभोक्तामा नियमित आपूर्ति सुनिश्चित गर्न मूल्य समायोजन अहिलेको आवश्यकता बनेको छ ।’ महासंघले आफ्ना सदस्य उद्योगीहरूलाई लागत वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध समेत गरेको छ ।
नेपालको पानी उद्योग क्षेत्रमा १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गर्दै राष्ट्रिय अर्थतन्त्र र राजस्वमा ठुलो योगदान पुर्याउँदै आएको यस क्षेत्रलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने माग महासंघको छ ।
विज्ञप्ति मार्फत महासंघले नेपाल सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका उपायहरू अपनाउन जोडदार माग गरेको छ ।
बढ्दो महँगी र अन्तर्राष्ट्रिय संकटको मारमा परेका पानी उद्योगीहरूको यो निर्णयसँगै अब बजारमा जार र बोतलको पानीको मूल्य केही बढ्ने देखिएको छ ।



















