
काठमाडौं । लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ ।
तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मले देशव्यापी वितरण गर्ने भएको छ ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ भन्छन्, ‘वितरक टिमसँगको सल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका हौँ । राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वात छौँ ।’
चलचित्र वितरणको जिम्मा लिएका आरआर फिल्मका रोहित कट्टेलले ‘पाँच पाण्डव’ लाई लिएर आफूहरू निकै उत्साहित रहेको बताएका छन् ।
वितरणका बारेमा आफ्नो धारणा राख्दै कट्टेलले भने, ‘हामीले फिल्मको कन्टेन्ट र यसमा रहेका कलाकारहरूको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौँ । तिहार जस्तो ठुलो चाडमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिने छ । ‘पाँच पाण्डव’ व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुनेमा हामी विश्वस्त छौँ, त्यसैले हामीले यो उत्कृष्ट मिति रोजेका हौँ ।’
विषय, कलाकार, निर्माण टिक र प्राविधिक पक्ष बलियो बनाउने तयारीका कारण यो सिनेमा प्रतीक्षित पनि बनेको छ ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरीलगायत मुख्य भूमिका रहने छन् ।
काली रानी फिल्मकाे ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् । चैत २ गते नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभ मुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूले एकसाथ काम गरिरहेका छन् ।
चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
नवीन श्रेष्ठले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ भने बाँकी छायाकंन काठमाडौं उपत्यकाका स्थानमा खिचिने निर्माण टिमको भनाइ छ ।
‘पाँच पाण्डव’को यति बेला झापा स्थित एचएमसी न्यू हिकोला होटलको भव्य इन्टेरियल दृश्य खिचिँदै छ । उक्त स्थानको सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।
यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् । चलचित्रको वितरण आरआर फिल्मले गर्नेछ ।



















