
काठमाडौं । देशको मौसममा यतिबेला पश्चिमी वायु, स्थानीय वायु र पूर्वी नेपाल नजिकको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । जसका कारण पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ । तराईमा गर्मी बढ्दो क्रममा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आज (सोमबार) बिहानैदेखि बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत भइरहेको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहेको र एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यता तराई र भित्री मधेशका जिल्लाहरूमा भने मौसम मुख्यतः सफा रहँदा तापक्रम बढ्ने क्रम जारी छ । मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने देखिएको छ ।
मौसमविद्ले पहाडी क्षेत्रमा चट्याङ र वर्षाबाट सतर्क रहन तथा तराईमा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।
























