
विराटनगर । विराटनगरमा सोमबार बिहान एक जना युवक मृत फेला परेका छन् । मृतक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–३ स्थित डिभिजन वन कार्यालयनजिकै रहेको फलैँचामा ३४ वर्षीय राजु गणेश कामत मृत फेला परेको प्रहरीले जनाएको छ । कामत बिहान ९ बजेतिर फलैँचामा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । कामतको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार तत्काललाई घटना शंकास्पद देखिएको छैन ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको अनुसन्धान सकिएपछि मृत्युको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । भारत महाराष्ट्रको मुम्बई घर भएका कामत परिवारसहित विराटनगरमा बसेर ज्याला मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ ।



















