
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदीय समितिका नवनिर्वाचित सभापतिहरूलाई समितिको कामकारबाहीमा दलीय आस्था र प्रभाव नदेखाउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतका समितिहरूलाई प्रभावकारी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले यस्तो आग्रह गरेका हुन् । सभामुख अर्यालले संघीय संसद् अन्तर्गतका प्रतिनिधि सभाका १० र संयुक्त २ गरी १२ वटा समितिका सभापतिसँग सामूहिक भेट गरेका थिए ।
उक्त भेटमा उनले संसदीय समितिहरूलाई ‘मिनी संसद्’को रूपमा व्याख्या गर्दै तिनको भूमिका अझ जिम्मेवार र प्रभावकारी हुनुपर्ने बताए । उनले समितिका सभापतिहरूलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरू दलीय प्रतिनिधित्वबाट निर्वाचित भएर आउनुभएको हो । तर, समितिको काममा दलको प्रभाव देखिनु हुँदैन । निर्णयहरू निष्पक्ष, वस्तुनिष्ठ र सार्वजनिक हितमा केन्द्रित हुनुपर्छ ।’
उनले संसदीय अभ्यासमा पारदर्शिता, जवाफदेहिता र सन्तुलन कायम गर्न समितिहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा राखे । सभामुख अर्यालले समितिका गतिविधि व्यवस्थित र प्रभावकारी बनाउन संघीय संसद् सचिवालय र आफ्नो तर्फबाट आवश्यक सहयोग सधैँ उपलब्ध हुने पनि आश्वासन दिएका छन् ।
उनले समितिहरूलाई कानुन निर्माण, कार्यपालिका निगरानी र सार्वजनिक सरोकारका विषयमा सक्रिय भूमिका खेल्न आग्रह गरे । भेटमा सहभागी समितिका सभापतिहरूले आफूहरूले पाएको जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरूले विगतका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिँदै नयाँ ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात् गर्दै समितिका गतिविधिहरू अघि बढाउने बताए । सभामुखको निर्देशनले संसदीय समितिहरूको कार्यशैलीमा निष्पक्षता र व्यावसायिकता कायम गर्ने अपेक्षा गरिएको छ ।



















