
विराटनगर । तराई–मधेशमा नयाँ वर्ष र ‘सिरुवा’ पर्वको उल्लास थियो । कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको दिन (वैशाख २ गते) सुनसरीको दुहबी नगरपालिका–१० की रामकुमारी चौधरीको परिवारका लागि भने बिर्सनलायक बन्यो ।
बिहान साढे ८ बजे नगर प्रहरी र डोजरसहित पुगेको टोलीले वर्षौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको संरचना भत्काउँदा राज्यले अमानवीय व्यवहार गर्यो । अमानवीय व्यवहार भोगेको परिवार अझै पीडाबाट निस्कन सकेको छैन ।
यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल छ । जसमा नगर प्रहरीले रामकुमारीलाई एउटा रुखमा अठ्याएर राखेको दृश्य देखिन्छ । स्थानीय भन्छन्, ‘मेयरको व्यक्तिगत जग्गा बेच्नका लागि गरिबको टाउकोमा डोजर चलाइयो ।’
के थियो घटना ?
दुहबी–१० स्थित रामकुमारी र विजय चौधरीको घरसँगै जोडिएको ऐलानी जग्गा छ । यो जग्गालाई किसानले खेतमा जाने बाटोको रुपमा प्रयोग गर्छन् ।
ऐलानी सोही जग्गासँगै जोडिएको एक कट्ठा ९ धुर जग्गा नगरपालिकाका प्रमुख (मेयर) वेदनारायण गच्छदारको नाममा छ । स्थानीयका अनुसार, मेयर गच्छदारले आफ्नो जग्गा बिक्री गर्नका लागि बाटो निकाल्न रामकुमारीले ऐलानी जग्गामा बनाएको संरचना भत्काउन बल प्रयोग गरेका हुन् ।
चैत ३० गते वडा कार्यालयले २ दिनभित्र टहरा हटाउन पत्राचार गरेको थियो । तर, म्याद सकिन नपाउँदै बिदाको दिन डोजर पुगेपछि स्थिति तनावपूर्ण बन्यो । रामकुमारीकी छोरी विनम चौधरीका अनुसार प्रतिकार गर्न खोज्दा नगर प्रहरीले बुवालाई भ्यानमा हाल्न खोजेको र आमालाई रुखमा चेपेर अमानवीय व्यवहार गरेको थियो ।
विनम भन्छिन्, ‘मेयरको जग्गामा जाने बाटो निकाल्न हामीलाई लछारपछार पारियो । मलाई पनि चोट लागेको छ ।’

यता, नगर प्रमुख वेदनारायण गच्छदार भने यसलाई अतिरञ्जित गरिएको दाबी गर्छन् । उनले आफ्नो जग्गा दिपेन ऋषिदेवलाई बिक्री गरेको स्वीकार गर्दै सो जग्गामा जाने बाटो रोक्न चौधरी परिवारले रातारात संरचना बनाएको आरोप लगाए ।
‘जिन्दगीभर सुकुम्बासी रहेका एक मुसहरका छोराले नम्बरी जग्गा किनेर घर बनाउन खोज्दा छिमेकीले नियतवश बाटो बन्द गरिदिए,’ मेयर गच्छदार भन्छन्, ‘त्यहाँ कुनै घर थिएन । बाटो छेक्न बाँस गाडिएको थियो । जसलाई नगरपालिकाले हटाएको हो ।’
प्रहरीले महिलालाई रुखमा अठ्याएको भिडियोको विषयमा उनले भने, ‘नगर प्रहरी तालिमप्राप्त छन् । ती महिला डोजरको अगाडि हाम फाल्न खोजेपछि दुर्घटनाबाट बचाउनका लागि रोकेर राखिएको मात्र हो ।
चौतर्फी आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि वैशाख ६ गते विज्ञप्ति जारी गर्दै घटनाको बचाउ गरेको छ । संरचना भत्काउने क्रममा अवरोध पुर्याएको र जेसिबीको नजिक जान खोज्दा सम्भावित दुर्घटनाबाट जोगाउन महिलालाई नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।




















