विराटनगरमा २ सय ५० करोडको लगानीमा पाँच तारे होटेल ‘लेमन ट्री’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १३:४८
विराटनगरमा २ सय ५० करोडको लगानीमा पाँच तारे होटेल ‘लेमन ट्री’

विराटनगर । विराटनगरमा पाँच तारे होटेल सञ्चालनमा आएको छ । पछिल्लो समय विराटनगरमा होटेल व्यवसाय (होटेल) थपिने क्रम रहेको छ । विराटनगरमा पहिलो पटक पाँच तारे होटेल सञ्चालनमा आएको । यसअघि सुनसरीको इटहरी र झापामा पाँच तारे होटेल सञ्चालनमा आइसकेको छ ।

विराटनगरमा साढे दुई अर्ब रुपैयाँ (२ सय ५० करोड) को लगानीमा अन्तर्राष्ट्रिय चेन होटेल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनमा आएको छ । यो होटेल अन्तर्राष्ट्रिय ब्रान्ड ‘लेमिन ट्री प्रिमियर’ को शाखा विराटनगरमा खुलेको हो । मुख्य भारतमा ‘लेमिन ट्री प्रिमियर’ छ भने यस बाहेक युएई, भुटान र नेपालमा सेवा दिइरहेको छ । होटेलको व्यवस्थापन भारतको नयाँ दिल्लीस्थित कार्यालयले गर्ने छ ।

Advertisement

होटेलका सञ्चालकहरू विकास चौधरी, विनय चौधरी, कविन श्रेष्ठ, प्रशान्त तातेड र मनोज विक्रम शाहले संयुक्त रूपमा होटेलमा विशेष पूजा गरेर उद्घाटन गरेका छन् ।  । उद्‌घाटन गरिए पनि केही समयपछि मात्रै होटेल पूर्ण रूपमा खुला गरिने बताइएको छ ।
कुल ८१ वटा सुविधायुक्त कोठा रहेको यस होटेलमा एकैसाथ २०० देखि २३० जना पाहुनाहरूले आवास सुविधा लिन सक्नेछन् ।

होटेलमा सामान्यदेखि ‘स्वीट रुम’ सम्मको व्यवस्था गरिएको छ । विशेष गरी राष्ट्रप्रमुख, प्रधानमन्त्री, र कूटनैतिक नियोगका विशिष्ट व्यक्तिहरूलाई लक्षित गरी अति विशिष्ट कक्षहरू निर्माण गरिएको होटेल प्रशासनले जनाएको छ । होटेलमा एउटा कोठाको न्यूनतम ८ हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

होटेलको पाँचौँ तलामा स्विमिङ पुल निर्माण गरिएको छ, जसको प्रयोग होटेलका पाहुना र क्लब मेम्बरहरूले मात्र गर्न पाउने छन् । यस्तै, व्यावसायिक कार्यक्रम र सेमिनारका लागि ६ हजार स्क्वायर फिटको हल निर्माण गरिएको छ, जहाँ एकै पटक १ हजार जना अटाउन सक्छन् ।

विभिन्न देशका स्वाद पस्कनका लागि होटेलमा बेग्लाबेग्लै रेस्टुरेन्ट र मादक पदार्थका पारखीका लागि छुट्टै ‘बार’ को व्यवस्था गरिएको सञ्चालक मनोजवित्रक शाहले जानकारी दिए ।

स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै होटेलले १० हजार स्क्वायर फिटमा विशाल वेलनेस सेन्टर सञ्चालन गरेको छ । यहाँ जिम, जुम्बा, योग, स्पा, स्टिम, साउना, जकुर्जीदेखि मसाज थेरापीसम्मको सुविधा उपलब्ध छ । साथै, लेडिज र जेन्ट्स पार्लरको पनि छुट्टै व्यवस्था रहेको छ ।

होटेल सञ्चालनमा आएको केही समयपछि दोस्रो चरणमा ‘क्यासिनो’ समेत सञ्चालन गर्ने लक्ष्य रहेको सञ्चालक शाहले बताए । होटेलले भारतीय र तेस्रो मुलुकका पर्यटकहरूका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास लिइएको शाहले बताए ।
यस होटेलको सञ्चालनले विराटनगरको पर्यटन र आर्थिक गतिविधिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.