
विराटनगर । झापामा अटो टेम्पो र मोटरसाइकल ठोक्किएर मंगलबार दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–३ नयाँ बस्तीमा बिर्तामोडबाट सुरुंगातर्फ आउँदै गरेको प्र १–०१–००१ ह ८२५२ नम्बरको अटो आफैं अनियन्त्रित भएर विपरीत दिशातर्फ जाँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलमा ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर अटोमा सवार हल्दीबारी गाउँपालिका–३ का की ६८ वर्षीया मन्जुधरी ढकालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा अपरान्ह ४ः३५ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा परेर अटोमा सवार झापाको हल्दीबारी गाउँपालिका–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भीमा ढकाल, १३ वर्षीय रोजन ढकाल, हल्दीबारी–५ का १३ वर्षीय प्रदीप नेपाल र मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का ३७ वर्षीय चन्द्रबहादुर खत्री घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य छ । उनीहरुकाले बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल, अटो र अटो चालक हल्दीबारी–३ का ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

























