संसद्‍मा तोडफोड गर्ने सांसदले नै तिर्नुपर्ने क्षतिपूर्ति, १५ दिनसम्म निलम्बन हुन सक्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १९:५८

काठमाडौं। संसद् बैठकका क्रममा भौतिक संरचना तोडफोड वा हानी नोक्सानी पुर्‍याएमा अब सम्बन्धित सांसदबाटै क्षतिपूर्ति भराइने भएको छ। प्रतिनिधिसभा नियमावलीले बैठकमा अनुशासन कायम राख्न र ध्वंसात्मक गतिविधि रोक्न यस्तो कडा व्यवस्था गरेको हो।

नियमावलीको नियम ३३ ले संसद्मा सुव्यवस्था कायम राख्ने विशेष अधिकार सभामुखलाई दिएको छ। सोही नियमको उपनियम ४ अनुसार कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेमा वा भौतिक क्षति पुर्‍याएमा सभामुखले कारबाही गर्न सक्नेछन्। बैठक सम्पन्न भएपछि मात्रै त्यस्तो घटनाबारे जानकारी भए पनि सभामुखले दोषी सांसदलाई बढीमा १५ दिनसम्म निलम्बन गर्ने र भौतिक सामग्रीको क्षतिपूर्ति निजबाटै भराउने आदेश दिन सक्ने व्यवस्था छ।

Advertisement

विगतमा संसद् बैठकका क्रममा कुर्सी भाँच्ने र तोडफोड गर्ने जस्ता उच्छृङ्खल घटनाहरू भएपछि नियमावलीमा यस्तो कडाइ गरिएको हो। कुनै सदस्यले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरेमा सभामुखले तत्काल रोक्न आदेश दिनेछन्।

यदि सांसदले सभाको प्रतिष्ठामा आँच आउने गरी ध्वंसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा सभामुखले मर्यादापालक लगाएर बैठक कक्षबाट तत्काल निष्काशन गर्न सक्ने अधिकार समेत पाएका छन्। यद्यपि, यस्तो कारबाहीको आदेश दिनुअघि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने उचित मौका भने दिनुपर्ने प्रावधान नियमावलीमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.