
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग करिब साढे पाँच घण्टा लामो छलफल गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायतका अधिकारीहरूसँग समसामयिक सुरक्षा र संवेदनशील मुद्दाहरूमा विस्तृत कुराकानी गरेका थिए । छलफलका क्रममा केही महत्वपूर्ण प्रकरणका फाइलहरू खोल्ने र उच्च तहका व्यक्तिमाथि अनुसन्धान अघि बढाउने विषयमा गम्भीर तयारी भएको बताइएको छ ।
पछिल्लो समय विभिन्न विवाद र आरोपका बीच मन्त्री गुरुङमाथि बढेको दबाबका सन्दर्भमा समेत बैठक केन्द्रित रहेको स्रोतको भनाइ छ । बैठकपछि मन्त्री गुरुङले राष्ट्रको स्रोतमा आँखा गाड्नेहरूविरुद्ध कारबाही नरोकिने स्पष्ट सन्देश दिएका छन् ।
उनले आफूमाथि भइरहेको मिडिया ट्रायल र प्रायोजित हल्लाको कडा शब्दमा प्रतिवाद गर्दै कानुनअनुसार अघि बढ्ने अडान दोहोर्याएका छन् । मन्त्रालयले यस छलफललाई आगामी दिनमा हुने कारबाहीको तयारीका रूपमा लिएको छ ।
























