
इटहरी । चतरा–कान्छीचोक सडक खण्डअन्तर्गत सुनसरीको रामधुनी नगरपालिका–६ शिसुवा चोकमा ईभी गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पैदलयात्री र गाडीमा सवार गरी १६ जना घाइते भएका छन् ।
चतराबाट कान्छीचोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३४ च ०५७७ नम्बरको ईभी गाडी अचानक अनियन्त्रित भई मंगलबार दिउँसो सडक किनारमा रहेका पैदलयात्रीलाई समेत ठक्कर दिँदा दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा सिटी अस्पताल लविपुरामा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त गाडी हाल इप्रका पकलीको नियन्त्रणमा राखिएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गाडीको ‘ब्रेक’मा समस्या आएपछि दुर्घटना भएको देखिन्छ ।
दुर्घटनामा पैदलयात्रीतर्फ रामधुनी–६ बस्ने करिब ६० वर्षीया फिरनी धामी, उनकी नातिनीहरू १४ वर्षीया सरिता धामी र १० वर्षीया मनिका धामी तथा ५ वर्षीया प्रितिका राजधामी घाइते भएका छन् । अवस्था सबैको सामान्य छ ।
त्यस्तै, गाडीमा सवारमध्ये खोटाङ मझुवागढी–४ की ६२ वर्षीया सीता खत्री, सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की ६० वर्षीया मेनुका बस्नेत, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ की ३९ वर्षीया रन्जु थापा, १० वर्षीय आरोव श्रेष्ठ घाइते भएका छन् । सुन्दरहरैँचा–७ की ३३ वर्षीया रिता कार्की र उनकी ११ वर्षीया छोरी कुसुम कार्की विराटनगर महानगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी अधिकारी, उनका छोरीहरू १२ वर्षीया समीक्षा अधिकारी र ८ वर्षीया सदिक्षा अधिकारी पनि घाइते भएका छन् ।
त्यस्तै, विराटनगर–३ की ३६ वर्षीया देविका बुढाथोकी, इटहरी–४ की ४० वर्षीया निर्मला कटवाल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ की ५० वर्षीया यशोदा कार्की घाइते भएका छन् । सबै घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ईभी चालक सुनसरीको दुहबी नगरपालिका–२ का ३७ वर्षीय प्रमोद कामार साह फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
























