
काठमाडौं ।अनलाइन मिडिया र सामाजिक सञ्जालमा पछिल्लो समय बढ्दै गएको आधारहीन तथा भ्रामक सूचनाप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता कपोलकल्पित सामग्रीले समाजमा गलत मनोविज्ञान फैलाइरहेको भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिएको स्पष्ट पारेको छ ।
मन्त्रालयले सबै समाचार प्रदायक संस्था र व्यक्तिहरूलाई आधिकारिक निकायबाट पुष्टि नभएका कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण नगर्न निर्देशन दिएको छ । प्रचलित कानुनको बर्खिलाप हुने गरी भ्रामक समाचार फैलाएको पाइएमा विद्युतीय कारोबार ऐन र अन्य सम्बद्ध कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत सरकारले दिएको छ ।
यस्तै, आम सर्वसाधारणलाई सामाजिक सञ्जालमा कुनै पनि सामग्री साझा गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्न र भ्रम फैलाउन सहयोग पुग्ने गरी कुनै पनि क्रियाकलापमा संलग्न नहुन अपिल गरिएको छ । भ्रामक सूचनाका बारेमा कुनै गुनासो वा जानकारी भएमा मन्त्रालयको वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टल, फोन नम्बर वा इमेलमा सम्पर्क गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

























