
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमण गरेर बसाइएका सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् । उनले आउँदो शनिबार र आइतबारभित्र यस्तो बस्ती खाली गराउन स्पष्ट समयसीमा तोकेका हुन् ।
प्रधानमन्त्रीको जिम्मेवारीसँगै हाल गृह मन्त्रालय समेत सम्हालिरहेका शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दिएका थिए । बैठकमा उनले बस्ती हटाउने काम तत्काल सुरु गर्न र पहिलो चरणमै काठमाडौं उपत्यका केन्द्रित गर्न भनेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अतिक्रमण गरेर सार्वजनिक जग्गामा बसोबास गर्दै आएका बस्तीहरूलाई कानुनअनुसार हटाउने निर्णय कार्यान्वयनमा लैजान सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको छ । यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सम्बन्धित निकायलाई समन्वय गरेर अघि बढ्न भनिएको छ ।
शाह यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि सुकुम्बासी बस्ती हटाउने अभियान अघि बढाएका थिए । त्यतिबेला विभिन्न स्थानमा बस्ती हटाउने प्रयास गर्दा स्थानीयको विरोधका कारण अभियान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन ।
विरोधका बीच कतिपय स्थानमा डोजर चलाउने तयारी भए पनि अन्ततः योजना अधुरै रोकिएको थियो । अब भने प्रधानमन्त्रीकै हैसियतमा उनले पुनः सोही विषयलाई प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजान खोजेका हुन् ।
स्रोतका अनुसार यसपटक सुरक्षा निकायको प्रत्यक्ष संलग्नतामा अभियान सञ्चालन हुने भएकाले अघिल्ला प्रयासभन्दा कडा रूपमा अघि बढ्ने संकेत देखिएको छ । सरकारको यो निर्णयसँगै काठमाडौं उपत्यकाका नदी किनार, सार्वजनिक जग्गा र अन्य अतिक्रमित क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूमा त्रास र अन्योल बढेको छ ।
बस्ती हटाउने प्रक्रिया कसरी अगाडि बढाइन्छ, वैकल्पिक व्यवस्था के हुन्छ र सम्भावित विरोध कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय अहिले प्रमुख चासोको रूपमा उभिएको छ ।
























