तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १०, बिहीबार ०७:०४

काठमाडौं । देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव कायम रहँदा मौसमको स्वरूप मिश्रित देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको असर विशेषगरी हिमाली र पहाडी भू–भागमा बढी देखिएको छ भने तराई क्षेत्रमा गर्मी बढ्ने अनुमान गरिएको छ । आज (बिहीबार) कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम खालको वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

यसैबीच, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा तापक्रम बढ्दै जाने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको जोखिमसमेत रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बिहीबार राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन । कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.