
काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायम रहँदा आज (शुक्रबार) अधिकांश हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना छ भने तराईका धेरै स्थानमा आंशिक बदली रहनेछ । दिउँसो विशेषगरी कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।
यसैबीच, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई तथा उपत्यकाहरूमा तापक्रम बढ्ने संकेत देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो हावा (हीटवेभ)को जोखिम रहने बताइएको छ ।
रातिको समयमा भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम प्रायः सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
























