
काठमाडौं । सरकारले काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुम्बासी’लाई स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ ।
सरकारले शनिबार र आइतबार थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका सुकुम्बासी बस्ती हटाउँदैछ । तीन स्थानका सुकुम्वासीलाई सरकारले अस्थायी बसोबासकाे व्यवस्था गर्नेछ । त्यसपछि उनीहरुलाई सरकारले वसाेबासकाे प्रावधान मिलाउनेछ ।
प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले पूर्व तयारी गरेर मात्रै सुकुमवासीलाई सार्न लागेको हो ।
शुक्रबार साँझसम्म बसोबास गरिरहेको स्थान छोड्नका लागि सुरक्षाकर्मीले हिजो साँझ माइकिङ गरेर आग्रह गरेको छ । अन्यत्र घर– जग्गा भएका तर सुकुम्बासी हुँ भन्दै बसेकाहरुलाई भने सरकारले सुरक्षित स्थानमा राख्ने छैन ।
प्रधानमन्त्री कार्यालयका अनुसार सारिएका सुकुम्बासीकाे लगत संकलन राखिएकै स्थानबाट हुनेछ । लगत संकलनको कार्य भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्नेछ । वास्तविक सुकुम्बासी छुट्याउने कार्य १५ दिनमा सकिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएको छ ।



















