पश्चिम एसियाबाट ३० हजार नेपाली फर्किए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १८:१३

काठमाडौं । इजरायल–अमेरिका र इरानबीचको युद्ध सुरु भएयता पश्चिम एसियाका विभिन्न देश तथा खाडी मुलुकबाट करिब ३० हजार नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार फर्किएका सबै नेपाली युद्धकै कारण प्रभावित भएर आएका हुन् भन्ने निष्कर्ष निकाल्न नसकिने स्थिति छ । कतिपय लामो समयपछि बिदामा आएका हुनसक्ने तथा व्यक्तिगत कारणले फर्किएका पनि हुनसक्ने मन्त्रालयको भनाइ छ ।

Advertisement

मन्त्रालयका सहसचिव रामजी खड्काले पत्रकार सम्मेलनमार्फत हालसम्म करिब ३० हजार नेपाली स्वदेश फर्किएको अनुमान रहेको जानकारी दिए । उनका अनुसार तीमध्ये कतारबाट मात्र करिब २१ देखि २२ हजार नेपाली फर्किएका छन् ।

युद्ध सुरु भएपछि नेपालीको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको थियो । सो पोर्टलमार्फत हालसम्म ८७ हजार ८ सय १९ जना नेपालीले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

सुरुवाती चरणमा ७ हजारभन्दा बढीले तत्काल उद्धार आवश्यक रहेको भन्दै नाम दर्ता गरेका थिए । पछि अवस्था केही सहज हुँदै जाँदा तत्काल उद्धार माग गर्ने संख्या घटेको मन्त्रालयले जनाएको छ ।

इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसक्याम्पहरूमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेपछि खाडी मुलुकहरूमा सुरक्षाको चासो बढेको थियो । त्यसको प्रभाव साउदी अरब, यूएई, कतार लगायत देशमा कार्यरत नेपाली श्रमिकमा समेत परेको बताइएको छ ।

कतिपय कम्पनीहरूले श्रमिकलाई बिदा दिएको तथा केही क्षेत्रमा कामकाज प्रभावित भएको मन्त्रालयको मूल्यांकन छ । होटल, रेस्टुरेन्ट तथा सेवा क्षेत्रमा युद्धको प्रत्यक्ष प्रभाव देखिएको भए पनि हालसम्म ती क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले ठूलो समस्या वा गुनासो भने दर्ता नगरेको सहसचिव खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.