
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले देशको परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई थप व्यवस्थित र मर्यादित बनाउन वर्तमान सरकार दृढताका साथ लागिपरेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले शनिबार मनमैजुमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कूटनीतिक आचारसंहिताको पूर्ण पालनामा जोड दिए।
मन्त्री खनालले कूटनीतिक मर्यादा र नियमहरू प्रधानमन्त्री, मन्त्रीदेखि सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिहरूलाई समान रूपमा लागू हुने स्पष्ट पारे। उनले कूटनीतिक आचरणलाई व्यवहारमा उतार्न सरकारले विशेष तयारी गरिरहेको जानकारी दिँदै भने, ‘प्रधानमन्त्री र मन्त्रीलगायत सबैले कूटनीतिक नियम पालना गर्नुपर्छ। यसका लागि हामीले आवश्यक तालिमको समेत व्यवस्था गरेका छौँ।’
कुनै पनि देशसँगको सम्बन्ध र कूटनीतिक भेटघाटहरूमा निश्चित मापदण्ड पालना नहुँदा देशको छविमा असर पर्ने भन्दै उनले अब त्यस्तो हुन नदिने बताए। फरक प्रसङ्गमा कुरा गर्दै मन्त्री खनालले वर्तमान सरकार सुशासन कायम गर्न र देशको आर्थिक अवस्था सुधार गरी समृद्धिको बाटोमा लैजान केन्द्रित रहेको दाबी गरे। जनताले महसुस गर्ने गरी काम गर्न सरकारका सबै निकायहरू सक्रिय रहेको उनको भनाइ थियो।



















