१० वर्षमा २४,५०० मेगावाट लक्ष्य

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख १४, सोमबार ०६:२७

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०९२–०९३ सम्म सरकारी, सार्वजनिक र निजी क्षेत्रको संयुक्त लगानीमा उत्पादन बढाउँदै आन्तरिक खपत विस्तार र विद्युत् निर्यातलाई सुदृढ बनाउने लक्ष्य लिइएको हो । रणनीतिअनुसार निर्माणाधीन तथा तयारीमा रहेका ठूला आयोजना प्राथमिकतामा परेका छन् ।

१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशय आयोजना, ६७० मेगावाटको दूधकोशी, १०६१ मेगावाटको माथिल्लो अरुण र ४१७ मेगावाटको नलगाड आयोजना मुख्य परियोजनाका रूपमा अघि बढाइनेछ । यसैगरी तनहुँ, रघुगंगा, माथिल्लो त्रिशूली ३ बी लगायतका आयोजना निकट अवधिमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ऊर्जा मिश्रणलाई ध्यानमा राख्दै सौर्य ऊर्जामा पनि जोड दिइएको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्रवर्द्धित १००० मेगावाट सौर्य परियोजना २०८५ सम्म पूरा गर्ने योजना छ भने निजी क्षेत्रमार्फत थप ठूला सौर्य आयोजना अगाडि बढाइनेछ ।

सरकारले प्रसारण पूर्वाधार विस्तारलाई समेत प्राथमिकता दिएको छ । १४ आन्तरिक र १० अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, विद्युतीय चुलो, चार्जिङ स्टेशन र विद्युतीय सवारी प्रवर्द्धन गर्ने तथा कृषि र उद्योगमा विद्युत् प्रयोग बढाउने लक्ष्य रणनीतिमा समेटिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.