
काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको मुद्दा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ पहिलो नम्बरमा राखिएको छ।
२०७७ असोज ५ गते सर्वोच्च पुगेको यो मुद्दा पाँच वर्षको अवधिमा १६ पटक पेसी चढे पनि विगत तीन वर्षदेखि सुनुवाइ हुन सकेको थिएन। पछिल्लो पटक २०८० भदौ ६ मा न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. नहकुल सुवेदीको इजलासले मिसिल झिकाउने आदेश दिएको थियो।
विशेष अदालतले २०७६ फागुन १५ मा साहलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष जेल सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। त्यस्तै सम्पत्ति शुद्धीकरण मुद्दामा ५ वर्ष कैद सजायको फैसला भएको थियो। विशेष अदालतको उक्त फैसलामा चित्त नबुझाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र साह दुवै पक्ष सर्वोच्च पुगेका हुन्।
अख्तियारले साहविरुद्ध ३१ करोड ५० लाख २६ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै २०७३ पुस २५ मा मुद्दा दायर गरेको थियो। त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि २०७४ चैत १६ मा ३२ करोड ४ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। सर्वोच्चले यी दुवै पक्षका निवेदनलाई एकैसाथ राखेर सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
























