कर्मचारीद्वारा जलेका गाडीको नाममा इन्धनको दुरुपयोग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १५, मंगलबार १५:०२

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा जलेका सवारीसाधनको नाममा इन्धन सुविधा लिई दुरुपयोग गरिएको घटना सार्वजनिक भएपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ ।

जेनजी आन्दोलनको आवरणमा गत भदौ २४ गते अराजक समूहले आगजनी गर्दा मन्त्रालय र मातहतका निकायका २४ वटा सवारीसाधन जलेर पूर्ण रूपमा नष्ट भएका थिए । तीमध्ये १८ वटा स्वास्थ्य मन्त्रालयका र ६ वटा अन्य निकायका गाडी रहेका थिए । कामै नलाग्ने अवस्थामा पुगेका ती सवारीसाधनको विवरण प्रयोग गरेर केही कर्मचारीले अनियमित रूपमा इन्धन सुविधा लिएको पाइएको हो ।

Advertisement

स्वास्थ्य मन्त्री निशा मेहताले उक्त घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएकी छन् । उनले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई जिम्मेवारी दिँदै संलग्न व्यक्तिहरूमाथि आवश्यक कारबाही अघि बढाउन भनेकी हुन् ।

मन्त्रालय स्रोतका अनुसार, जलेका गाडीको अभिलेखलाई आधार बनाएर इन्धन सुविधा लिने अभ्यास केही समयदेखि चलिरहेको आशंका छ । यसले सरकारी स्रोतको दुरुपयोग भएको भन्दै मन्त्रालयभित्रै आलोचना पनि बढेको छ । छानबिनपछि दोषी ठहरिएका कर्मचारीमाथि कानुनी तथा प्रशासनिक कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मन्त्रालय मातहतका अन्य निकायमा रहेका विवादित सवारीसाधन पनि फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको छ । प्रारम्भिक चरणमा विवरण संकलन र कागजात परीक्षण भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.