
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मूल गेटअगाडि, बल्खु–मकवानपुर सडकखण्डको छेउमा रहेको राधास्वामी सत्संग भवन अहिले अस्थायी आश्रयस्थलमा परिणत भएको छ ।
थापाथली र गैरीगाउँ क्षेत्रबाट हटाइएका सकुम्वासी परिवारहरू यहीँ आश्रय लिइरहेका छन् । तर, आश्रय पाए पनि उनीहरूको दैनिक जीवन भने असहज र अभावग्रस्त बनेको छ ।
ठूलो तर खुला संरचनामा बनेको सत्संग भवन वरिपरि पर्खाल छैन । जस्ताले छाएको छाना छ, जसले घामपानीबाट जोगाउने काम त गर्छ । तर, भित्रको जीवन भने कष्टपूर्ण छ ।
भवनभित्र झुल टाँगेर बसोबासको अस्थायी व्यवस्था गरिएको छ । कतै बालबालिका खेलिरहेका छन्, कतै मानिसहरू समूह–समूहमा बसेर आफ्ना दुःख साटिरहेका छन् । तर, यो चहलपहलभित्र गहिरो पीडा र अनिश्चितता लुकेको छ ।
६५ वर्षीया पुष्पा कसाई पनि यहीँ बसिरहेकी छन् । थापाथली सकुम्वासी बस्तीमा वर्षौँदेखि बस्दै आएकी उनी शनिबार डोजर चलेपछि विस्थापित भइन् । उनको समस्या घर गुमाउनु मात्र नभएर स्वास्थ्यसम्बन्धी गम्भीर चुनौती पनि हो ।
उच्च रक्तचाप र छातीको रोगबाट पीडित उनी नियमित औषधिमा निर्भर थिइन् । तर, बस्ती हटाइँदा उनका औषधि र पर्चा सबै पुरिए । सत्संगमा आइपुगेपछि उनले औषधिको माग गरिन् । तर, तत्काल उपलब्ध भएन । अन्ततः उनी आफैँ शंखमुल पुगेर औषधि ल्याउन बाध्य भइन् । ‘औषधि नखाइ हुँदैन,’ उनले भनिन्, ‘तर, यहाँ त दिने व्यवस्था नै छैन ।’
यस्तै समस्या अरूमा पनि देखियो । एक मजदुर युवकको हातमा गम्भीर चोट लागेको थियो । देब्रे हातको बुढी औँलाबाट नङ झर्ने अवस्थामा पुगेको छ । तर, उपचार पाउन सकेका छैनन् । सामान्य प्राथमिक उपचारसमेत उपलब्ध नभएको उनीहरूको गुनासो छ ।
मंगलबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल अनुगमनका लागि सत्संग पुगेकी थिइन् । त्यहाँ उपस्थित सकुम्वासीहरूले औषधि अभावदेखि लिएर दैनिक जीवनका आधारभूत समस्यासम्मका गुनासा राखे । डंगोलले केही गुनासा टिपोट गर्दै समाधानको आश्वासन दिइन् । स्वास्थ्य टोलीलाई फोन गरेर आवश्यक व्यवस्था गर्न निर्देशन पनि दिइन् ।
सहरी विकास मन्त्रालयका अनुसार सत्संग भवनमा हाल ३३ परिवारका १४७ जना बसिरहेका छन् । तर, चार दिन बितिसक्दा पनि बाथरुमजस्तो आधारभूत सुविधा सहज रूपमा उपलब्ध छैन । सरसफाइको समस्या झन् जटिल बन्दै गएको छ ।
सुत्केरी महिला र साना बालबालिकाको अवस्था अझ संवेदनशील छ । दुधे बालबालिकालाई आवश्यक लिटो, पोसिलो आहार उपलब्ध छैन । ग्यास अभावका कारण उनीहरूलाई पकाएर खुवाउने अवस्था छैन । ‘बच्चालाई के खुवाउने ?’ भन्ने चिन्ता आमाहरूमा देखिन्छ ।
शिक्षा पनि गम्भीर रूपमा प्रभावित भएको छ । कक्षा १२ की विद्यार्थी गीर्वाणिका थापा यहीँ बसिरहेकी छन् । पढ्नका लागि वातावरण छैन । भिड, हल्ला, इन्टरनेट अभाव र बिजुलीको समस्या सबैले उनको तयारीमा बाधा पुर्याइरहेको छ । उनका पुस्तकहरू पनि बस्तीमै पुरिएका छन् ।
उनले कार्यवाहक मेयर डंगोलसँग आफ्नो समस्या राख्दै अध्ययन सामग्री र इन्टरनेट सुविधा मागिन् । डंगोलले मोबाइल रिचार्ज, लाइट र पुस्तक व्यवस्था गरिदिने आश्वासन दिइन् । तर, त्यो कहिले कार्यान्वयन हुन्छ भन्ने अझै स्पष्ट छैन ।
रातको अर्को समस्या हो, मच्छर । पर्याप्त झुलको अभाव छ । एक परिवारलाई एउटा मात्र झुल दिइएको छ । तर, धेरै परिवार छुट्टाछुट्टै सुत्न बाध्य छन् । ‘रातभर मच्छरले सुत्न दिँदैन,’ डम्बर तामाङले गुनासो गरे ।
बालबालिकाको पढाइ मंगलबारदेखि सुरु भइसकेको छ । तर, यहाँ बसिरहेका धेरै बालबालिका विद्यालय जान सकेका छैनन् । अभिभावकहरू चिन्तित छन् । बच्चाको भविष्य अन्योलमा परेको छ । उनीहरूले कहिले पुनः पढ्न पाउने भन्ने प्रश्नको स्पष्ट जवाफ अझै पाएका छैनन् ।
सत्संग भवनले अस्थायी रूपमा छानो दिएको छ । तर, जीवनका आधारभूत आवश्यकता पूरा गर्न नसक्दा सकुम्वासीहरूको अवस्था झन् जटिल बनेको छ । घर गुमाएको पीडा, स्वास्थ्यको जोखिम, शिक्षाको अवरोध र दैनिक जीवनको संघर्ष सबैले उनीहरूको भविष्य अझ अनिश्चित बनाइरहेको छ ।

























