
विराटनगर । बलात्कार (जबरजस्ती करणी) मुद्दामा दोषी ठहर भएको लामो समयसम्म फरार रहेका दाजुभाइ मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।
जनही १७ वर्षभन्दा बढी कैद सजाय तोकिएका बेलबारी नगरपालिका–५ का ५७ वर्षीय धनपाल भगत थारु र उनका दाजु भूपाल भगत भनिने भूपाल भगत थारुलाई मंगलबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए । उनका अनुसार दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका थिए ।
दाजुभाइलाई नै उच्च अदालत विराटनगरले २०७७ फागुन ४ गते दोषी ठहर गर्दै जनही १७ वर्ष ५ महिना २१ दिन कैद सजाय हुने फैसला गरेको थियो । त्यसअघि दाजुभाइले नै जिल्ला अदालत मोरङबाट भने सफाइ पाएका थिए ।
जिल्लाको फैसला उल्टाउँदै उच्च अदालतले धनपाल र भूपाललाई दोषी ठहर गर्दै कैदको फैसला गरेको भए पनि सजाय भुक्तान नगरिकन लामो समयदेखि उनीहरु फरार रहेका थिए । घरमै लुकेर बसेको अवस्थामा दाजुभाइलाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । उनीहरुलाई अदालतमा बुझाउने प्रहरीको तयारी छ । प्रहरीले बुझाएपछि दुवै जनालाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।
प्रहरीका अनुसार लामो समयदेखि फरार रहेका सजाय प्राप्त व्यक्तिहरूलाई पक्राउ गर्न चुनौतीपूर्ण भए पनि नियमित निगरानी, सूचनाको विश्लेषण र स्थानीय स्तरको समन्वयका आधारमा उनीहरूको अवस्थाका बारेमा जानकारी प्राप्त भएको थियो । सोही सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको इन्स्पेक्टर दाहाल बताउँछन् ।
पछिल्लो समय प्रहरीले फरार अभियुक्तहरूको खोजी र पक्राउ अभियानलाई तीव्र बनाएको छ । अदालतबाट दोषी ठहर भएर पनि सजाय भुक्तान नगरिकन फरार रहेकाहरुलाई पक्राउ गर्न अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।

























