
काठमाडौं । देशका विभिन्न स्थानमा आज (बुधबार) साँझबाट तीव्र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार बिहानसम्म देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक छ । बुधबार साँझ करिब ५ः४५ बजेदेखि सुरु हुने हावाहुरीले बिहीबार बिहान ७ः४५ बजेसम्म प्रभाव पार्ने पूर्वानुमान छ ।
सुदूरपश्चिम प्रदेशको डडेलधुरा र डोटी आसपास, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची आसपास, मधेश प्रदेशका धनुषा र बारा आसपास तथा कोशी प्रदेशको मोरङसहितका क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस अवधिमा मेघगर्जन, चट्याङ, असिना र पानीसहितको मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने भएकाले देशभरका धेरै स्थान प्रभावित हुन सक्ने विभागले जनाएको छ ।
मौसम अचानक परिवर्तन हुन सक्ने भएकाले खुला स्थानमा नबस्न, सावधानी अपनाउन र आवश्यक सतर्कता लिन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तो कुनै समस्यामा परेमा स्थानीय प्रशासन लगायत सरोकारवाला निकायसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

























